भैरहवा । प्रदेश नम्बर ५ का रेडिमिक्स ब्यवसायीहरु संगठित भएका छन् । शुक्रबार भैरहवामा भएको पहिलो बैठकमा प्रदेश नम्बर ५ मा रहेको रेडिमिक्सका सञ्चालकहरुले रेडिमिक्स ब्यवसायी संघ–नेपाल गठन गरि भरत कुमार पोखरेलको अध्यक्षतामा कार्यसमिति समेत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मोहन प्रसाद भुषाल, सचिव बाबुराम चौधरी र कोषाध्यक्षमा बलराम उपाध्यायलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा अस्मित पोखरेल, देवेन्द्र शाहु, संजय अधिकारी, मित्रलाल न्यौपाने, दिपक काफ्ले, दिनेश भुषाल र कमल ढकाललाई चयन गरेको छ ।
शुक्रबार नै भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि संघले निर्माणको चापको तुलनामा रेडिमिक्स ब्यवसाय धेरै भएको हुदा निश्चित दुरी हेरि मात्र दर्ता गर्न सरकारलाई आग्रह गरेको छ । सरकारले थोरै बजार क्षेत्र रहेको स्थानमा पनि आवश्यकता भन्दा बढी ब्यवसाय गर्ने स्विकृति दिदा यसले अस्वस्थ प्रतिस्प्रर्धा बढाएको रेडिमिक्स ब्यवसायी संघका अध्यक्ष भरत कुमार पोखरेलले जनाए । धेरै टाढा सम्म लैजान नसक्ने प्रकृतिको ब्यवसाय रहेको र सानो ठाउमा पनि धेरै ब्यवसाय रहेको कारण ब्यवसायी मारमा परेका पोखरेलले बताए ।
यस्तै रेडिमिक्स ब्यवसायमा गाडीमा रहेको सामाग्री बिग्रिने डर रहेको कारणले यो रेडिमिक्स बोकेको गाडीलाई एम्बुलेन्स सरहको सुविधा दिन पनि माग गरेको छ । बाटो जाम, आन्दोलन, चेकजाँच लगायतको कारणले भित्र रहेको सामाग्री जमेर बिग्रिने हुदा यसलाई एम्बुलेन्स सरहकै सुविधा दिनु पर्ने रेडिमिक्स ब्यवसायीहरुको जिकिर छ । प्रदेश नम्बर ५ मा अहिले १४ वटा रेडिमिक्स सञ्चालननमा रहेकोमा रुपन्देहीमा मात्र ७ वटा रेडिमिक्स ब्यवसाय सञ्चालनमा रहेका छन् ।
Comments